G'Ashish Blog

कविता · गजल · कथा

कोरोना डायरि




कोरोनाको महामारी विरुद्ध को लकडाउन यति लामो भै सक्यो कि मलाई थाहा पनि छैन आज कति दिन भयो।यो स्वाभाविक हो म यस्ता कुराहरू खाँसै याद गर्दिन। पहिले मलाई आफ्नो जन्मदिन सम्म पनि याद हुँदैनथ्यो तर अब यति धेरै जन्मदिन मनाई सके कि मलाई वर्षका ३६५ दिन मध्ये कुन चाहिँ दिनमा म जन्मेको हु भनेर भन्न खाँसै गार्हो पर्दैन। तर यो वास्तविकता लाई म नकार्न सक्दिन कि म धेरै सानो कुराहरूको बारेमा हेक्का राख्न र सम्झन सक्दिन। यसका सबल र दुर्बल पक्ष दुबै छन्, म पहिले यसलाई मेरी समस्याको रूपमा लिन्थे तर आजकल म यसलाई बानीको रूपमा लिन्छु र मतलब कम गरिदिन्छ। बरु म मैले महत्वपुर्ण ठानेका कुराहरूलाई नोटमा टिपेर राख्छु बा कुनै डिजिटल माध्यममा अनुसूचित गरेर राखीदिन्छु। आजकल कपिमा हातमा लेख्नु  र डिजिटल माध्यममा लेख्नुले धेरै फरक पार्छ। फरक यो मानेमा कि कुनै हस्त लिखित कुराहरू यस्ता हुन्छन् जो लेखिन्छन् आफैमा कुनै महत्व पनि राख्छन् तर पछि ती चीजहरू आफै हराएर जान्छन् किनकी तिनिहरू हामीलाई सर्वसुलभ हुँदैनन्। यदि  मैले कुनै कुरालाई मेरो वेबसाइटमा राखे भने मैले कुनै बेला पनि त्यसलाई खोल्न सक्छु। तर यदि त्यही कुरा मैले कुनै कपिको नोटमा टिपेको हुन्छु भने त्यसलाई लीनको लागी मैले कहिले कहि लामो दूरी पनि पार गर्नु पर्ने हुन सक्छ। खैर जे होस आज भोलि प्रविधिले हाम्रो नराम्रो बानी र कमजोरीलाई मतलब नराखि जिन्दगी बाच्न सहज बनाईदिएका छन्। कोही भन्छन् मान्छेहरू आधुनिक युगमा पहिलेको भन्दा दुखी छन्, तर हामीलाई हेर्दा लाग्छ पहिले जिन्दगी भन्दा त अहिलेको समय सहि छ। खुसीलाई नाप्ने र परिभाषित गर्ने कुनै ठोस इकाइ छैन। खुसी सायद बुझ्ने चीज भन्दा पनि महसुस गर्ने चीज हो। खुसी मान्छेले नै खुसीलाई राम्रो सँग परिभाषित गर्न सक्छ। त्यसैले खुसीको अन्ततोगत्वामा फस्नु भन्दा आफूलाई खुसी मिल्ने साना कुराहरू गरेर खुसी हुनु उचित हुन्छ। म खुसीको बारेमा लामो  लेख्न त  चाहन्न तर खुसी र सन्तुष्टिको एउटा जालोमा मान्छेको जीवन व्यतीत भई रहेको हुन्छ, र जसले यसलाई राम्रो सँग चलाउन जान्दछ उसले सन्तुलित जीवन बाच्दछ। राम्रो नराम्रो भन्ने कुरा तुलनात्मक हुन्छन्। जस्तो एउटा परिभाषामा सानो ठहरिएर पनि अर्को परिभाषामा त्यही कुरा ठूलो हुन सक्छ। तर खुसी दुखी भन्ने कुरामा तुलनात्मक अवस्थाले मापन पर्याप्त हुँदैन। त भन्दा म खुसी छु भनेर यदि कसैले भन्छ भने त्यहाँ उ असन्तुष्ट हुन पुग्दछ, र जति धेरै मान्छे असन्तुष्ट हुन्छ मान्छे त्यही धेरै बेखुस हुन्छ। यसरी हेर्दा लाग्छ सबै कुरा बिना सर्त स्विकार गर्ने मान्छेहरू खुसी हुन्छन् तर कुनै जर्जर शासक द्वारा संचालित देशका जनता खुसी भएर बसेका छैनन्। आजको पुँजीवादी समाजमा खुसीको परिभाषा केवल पैसा र स्त्रीमा सीमित हुन पुगेको। खुसीको बारेमा धेरै सोच्न नचाहने तर खुसी हुन चाहने हो भने अरूले बनाइदिएको सूत्रको सहारा लिनु पर्ने हुन्छ। यस्ता सूत्र भनेका धर्म, साहित्य, फिलोसोफि आदि हुन। ध्यान ( Meditation ) पनि एउटा खुसीको परिभाषा खोज्न हिडने हरुको लागि एउटा माध्यम हो।


यदि कसैले मापन गर्न सक्छ भने अहिले संसार सायद १९४५ पछि सबैभन्दा बेखुस छ। मान्छेले जागिर गुमाइरहेका छन्, स्वतन्त्र मान्छे घर भित्र बस्न बिवस छ , दैनिक मान्छे धमाधम मरिरहेका छन्। हामीले अहिले गर्व गर्दै आएका धेरै प्रणालीहरू अहिले हाम्रो लागी निरर्थक साबित भइरहेका छन्। हामीले मानेको विज्ञान आज यति सानो भाइरस सँग पराजित भइरहदा हामीलाई थाहा हुँदै छ हामीलाई अझैपनि धेरै कुराहरू थाहा हुन बाकी नै छ। कुनै टाढाको ताराको प्रकाश पृथ्वीमा आइ पुग्नु अगाडि हाम्रो ५०-६० पुस्ता हरू सकिसकेको हुन्छ। हाम्रा आँखा जसले चीज उल्टो देख्छ अनि हाम्रो दिमाग जसले उल्टो देखेको चीजलाई सुल्टो भनेर बुझिदिन्छ अनि हामी मानीष ती सबैको समग्र हाम्रो स्वरूप हामीले भन्दा करोडौँ गुना साना निर्जीव प्रोटिनको डल्लोले गरेर एकैछिनमा निर्जीव प्रणालीमा परिवर्तन हुन पुग्दछ र हामी यसलाई मृत्युको नाम दिएर आज सम्म स्विकारिरहेका छौं वा स्विकार्नु सिवाय हामी सँग कुनै अर्को विकल्प पनि छैन। हामी सँग संसार एक चुट्कीमा सखाप पार्न सक्ने बम हरू छन् तरे सारै सानो भाइरस सँग लइने खोप बनाउन हम्मेहम्मे छ। हामीले अहिलेसम्म हाम्रो समय के गर्न खर्च गर्यो ? आफै आफै लडेर कुनै अर्थहिन लडाइको बिजेता बन्नेको लागी। के तपाइलाई आज भन्दा २०० वर्ष अगाडिको धनी मान्छेको नाम थाहा छ। के तपाई १० वर्ष अघि विश्व सुन्दरीलाई चिन्नु हुन्छ। धेरै कुरा यस्ता हुन्छन् जसलाई हामीले भुल्नको लागि मात्र प्रयोग गरिरहेका छौं। यस्ता कुराहरूको महत्व लामो समयलाई आधार मानेर हेर्दा अनर्थक छन्। सारा ब्रह्माण्ड हेर्ने हो भने हामी केही पनि हैनौ। साना सूक्ष्म जीवहरू हेर्ने हो भने उनीहरूको लागी हामी सारा ब्रह्माण्ड हौं। म कहिले कहि कल्पना गर्छु सायद त्यो हाम्रो आँखाले देख्न नसकिने माइक्रोन र त्यो भन्दा पनि साना जीवाणुहरूको पानी आफ्नै सभ्यता छ र उनीहरूले पनि अहिले सम्म आफ्नो ब्रह्माण्डको अन्तिम बिन्दु भेट्न सकेका छैनन् ? संसार अनिश्चयको भुमरी हो। मौनौ कि भोलि सबैलाई थाहा भयो हामी को हौं के हौं भनेर त्यसपछि के संसार यस्तै रहन्छ होला ? कोही मान्छे अकस्मात् संसारका सबै नियम जान्यो र उसले संसारलाई त्यो कुरा भन्यो भने  उ पागल कहलाउँछ या धर्म गुरु ?


के कोरोना भाइरस पछि संसार परिवर्तन होला त ? पक्कै पनि कुनै न कुनै कुराबाट संसार प्रभावित पक्कै हुनेछ। २००२ तिर फैलिएको सार्स रोगको कारण जापानमा सबै मनीषहरू बाहिर निस्कदा माक्स लगाएर निस्कने गर्थे। अहिलेको यो लकडाउनले मान्छेलाई धेरै नयाँ कुराहरू सँग परिचित हुने मौका मिलेको छ। भिडियो कंफ्रेन्सिङ् एप होस या अनलाइन सपिङ् अनुभव , पहिलेको तुलना मा यसको प्रयोग अहिले व्यापक रूपमा भइरहेको छ। यसले गर्दा पक्कै पनि निकट भविष्यमा हामीले पहिले प्रयोग गरिरहेको प्रणालीहरूमा परिवर्तन पक्कै देखिन सक्ने छ। सबैभन्दा महत्वपुर्ण कुरा त भोलिका दिनहरूमा कोरोना भाइरसको कारणले बिग्रिएको आर्थिक प्रणालीहरू फेरि सुरुवात हुँदा कुन बाटोमा हिँडिदिन्छ भन्ने कुराले धेरैको भविष्य निर्धारक गर्न सक्छ।

सुर बेसुर


उफ, निरन्तरता दिन कति गार्हो ? कहिले काहिँ त लाग्छ यो मष्तिस्क होइन एउटा फुटवलको ग्राउन्ड हो। तर फुटबल ग्राउन्ड भन्दा यो फरक यो मानेमा छ कि फुटवल ग्राउन्डमा जम्मा २२ जना दौडन्छन तर मेरो दिमागमा हजारौ दौडन्छन त्यो पनि एकै चोटि। मैले बच्चाबाट चिनेका साथिहरु देखि मैले हिजो भेटेका सम्म सबै मेरो दिमागमा अटाएका छन्। यदि जिन्दगी, संसार , ब्रम्हाण्ड सारा सोचको नतिजा हो भने वा कुनै साइकोले गरेको कोडको परिणाम हो भने( आर्टिफिसिएल इन्टेलिजेन्स) वाला हो भने म पनि कसैको सोचमा बाचेको छू र म फेरि सोचेर कसैलाई बचाउदै छू र मैले मेरो सोचमा सिर्जना गरेको यो चिजले पनि कुनै समय सोचेर अर्को चिज बनाइदियो रे मानौ...... जति सोच्यो उति गारो। मलाई हामी हुनुको औचित्यको बारेमा कुरा गर्न मन लाग्छ तर फेरि सोच्छु ति १०० बर्षभन्दा टाढा रहेका ताराहरु जसको प्रकाश म कहाँ आउपुग्नु अधि नै म कतै बिलय भइ जानेछु, अरे यार के कुरा गर्नु जिवनको अस्तित्वको।

राम्रो कुरा गरौ। बानिको कुरा गरौ । सफलताको एक मात्र सटिक शुत्र भनेको निरन्तरता हो। जब सुरुवात गरिन्छ सबै चिज गार्हो लाग्छ। पहिले अक्षर क लेख्न बढो गार्हो भएको थियो। अहिले किताब लेख्न गार्हो लाग्छ। लेखिरहेका का लागी त्यो सजिलो लाग्छ। सायद उनिहरुको लागी गार्हो लाग्ने कुराहरु अरु कुनै हुन्छन् होला। निरन्तरता दिन सक्नु महत्बपुर्ण हो , सुरुवातमा नै अपेक्षा ठूलो राखेर पछी आत्तीने हरु भन्दा बिस्तारै गर्दै र सिक्दैजाने हो भने बढि सफल भइन्छ कि ? (सफलता भनेको परिश्रममा मात्र भर पर्ने चिज पनि होईन, सफल हुनुमा धैरै चिजहरुको हात रहेको हुन्छ।)

पैसा र सफलता भनेका फरक चिजहरु हुन तर धेरै मान्छेको लागी यि दुइ चिजहरु समान लाग्न पनि सक्छन। पैसा आजको पुजिवादि समाजमा अक्सिजन बराबर जस्तो हुन पुगिसकेको छ मान्छेहरु पैसा बिना बाच्न मुस्किल छ। आफुलाई बाच्नपुग्ने गरि कमाउन सक्नु महत्वपुर्ण हो। त्यो भन्दा बढि जति कमाएपनि मान्छे सन्तुष्ट कहिल्यै हुन सक्दैन्। समय बदलिसकेको छ, आजकल खुसि किन्न पनि पैसा तिर्नु पर्छ। तपाईलाई सम्बन्ध गास्न पैसा चाहिन्छ, बाच्न पैसा चाहिन्छ , खुलेर हास्न पैसा चाहिन्छ। पुजिवादी समाजमा गरेक भावना पैसामा तौलिन सकिन्छ।

शुभरात्री, जाडो भयो :-D

मन्द क्रान्ती


म रुखो भएको हु वा मेरो जिन्दगी म सगँ रुखो भएको हो म बुझ्न सकेको छैन्। जिन्दगी साधारण हो जस्तो लाग्छ तर यसको अन्तरजालो जति बुझ्दै गयो उति कठिन जस्तो लाग्छ्। मान्छेले जति जिन्दगी र आफ्नो बारेमा ब्याख्या गरे पनि हाम्रो परिभाषा भनेको समयमा नै गएर अडेको हुन्छ। समय साच्चै शक्तिशाली छ। म फेरि समयलाई ठुलो बनाएर आफुलाई कमजोर देखाउन चाहन्न। तर मैले देखाए पनि लुकाए पनि बास्तबिक यथार्थ बदलिने भन्ने त होईन्। अब मैले यथार्थको बारेमा बिश्लेशण गर्न थाले भने म को हो भन्ने कुराले पनि बहस गर्ने ठाउँ पाउछ्। धैरै कुरालाई दायाँ बायाँ नलगौ समयको बारेमा नै कुरा गरौ। म समयमा छु र समयकै कुरा गर्छु, सुन्ने मन नहुने हरु कतै टाढा गए हुन्न, कम्तिमा पनि मैले देख्ने भन्दा टाढा। म मेरो दृष्टिलाई नराम्रो कुरा देखाएर तनाब दिन्न चाहन्न्।

आज भन्दा ठीक ४ बर्ष अधि तिर जब म पि.ई.ए (ईन्जिनिएरिंग प्रिपेरेसन गराउने ठाउँ) मा पढदै गर्दा एक जना इलेक्ट्रिकल पढाउने सरले मार्ने डाइलग थियो " भाई कोहि मान्छै कमजोर हुदैन उसको बस समय कमजोर हुने हो"। यो चिज मेरो मनषपटलमा यसरि बसिदियो कि यो मेरो जिन्दगीको सिद्वान्तनै बन्न पुग्यो।मैले यो डाइलग धेरै चोटि मारे। परिक्षा बिग्रदा मारे, केटिले छोडदा मारे, खल्तिमा पैसा सकिदा मारे। हुदा हुदै आजकल मलाई यस्तो लाग्न थालिसकेको छ कि यो कुनै डाइलग होईन  यो मेरो जिन्दगीको राष्ट्रगान को जो म मेरो जिन्दगीको हरेक खराब समयहरुमा गाउने कसम खाएको छु।

म एउटै कुरा धेरै लेख्ने मुडमा छैन। मैले ध्यान गर्ने छोडेको छु जसले गर्दा मलाई आजकल आफ्नो शान्ति खोज्न हम्मे हम्मे पर्ने गरेको छ। एकछीन आफ्नो अन्तर शान्तिको बारेमा कुरा गरौ। मलाई बच्चा छदा लाग्थो संसार क्या सजिलो छ। यो संसार सारा कठपुतली हो जो मेरो लागी बाचिदिन्छन। यदि कोहि यो संसारमा बास्तबिक छ त त्यो बस म हु। आज फर्केर हेर्दा अच्चम लाग्छ, सबैको संसार बास्तबिक छ साला म मात्र छु जो कठपुतली सरि नाचिरहेको छु। ए म आफ्नो शान्तिको बारेमा कुरा गर्दै थिए्। हरेक मान्छेको भित्र एउटा शात्न स्थान हुन्छ जो उसले मात्र महसुस गर्छ। संसार इन्द्रियहरुको भ्रम हो, आखाँले राम्रो देखेको केटि हामीले राम्रो भन्छौ। जिब्रो को स्वाद छालाको स्पर्स बासनाको संसर्ग बस हामिले देखेको संसार केवल हाम्रा इन्द्रिएहरुले सिर्जना गरिदिएका कुराहरुमा मात्र सिमित छन्। एक समयलाई मानौ कि हाम्रा सब इन्द्रियले काम गर्न छोडे त्यसपछि हाम्रो अस्तित्च कहाँ छ। हामी हाम्रा इन्द्रियहरुको लागी बाचिदिएका छौ। मेरो लागी आत्मशान्ती मैले जब आफुलाई भित्र बाट नियालेर हेरेको थिए त्यहि बखर कहि भेटेको थिए।

मलाई पहिले संसार भरिभराउ लाग्थ्यो तर आजकल लाग्छ म रित्तो छु?
हाम्रो घरमा आउने एकजना पँण्डित थिए , हामी थिति भन्थ्यौ तर उनको बास्तबिक नाम परिस्थिति थियो, उनले अक्सर भन्ने गर्थे संसार मायामा अडेको छ। हामी रहनुको अर्थ एक अर्का प्रतीको माया र धृणा को परिणाम हो। माया र धृणा म एउटै चिज हो भन्न रुचाउछु, जब माया नेगेटिभ हुन्छ घृणा पलाउछ। यो माया र धृणामा मात्र पातलो पर्खाल हुन्छ जुन टुटन समय नलाग्न पनि सक्छ। यस्ता कुरा माया प्रेममा धैरै हुन्छ, कहिले काहिँ एकदमै घृणा गर्ने सगँ पछि माया बस्छ अनि फेरि पछी धृणा जाग्छ अनि यस्तो हुदा हुदै जिन्दगी बित्छ हामीलाई खासै पत्तो हुदैन। मलाई पहिले मेरो गाउँको मान्छेहरुको जिवन बेरस लाग्थ्यो तर अहिले अनुभव हुदैछ आखिरमा जिन्दगीनै बेरस छ।

आफु कमजोर हुदाँ जिन्दगीलाई परिभाषित गर्न क्या कारुँणिक शब्द फुर्छ। यो देशका जागिर नपाएका र खालीपकेट संसार जित्ने सपना बोकेका( यो मेरो क्योटोगोरि हो) हरुको भनाईलाई समेटेर एउटा किताब बनाउने हो भने खत्रा खत्रा आशुकबिहरुको कृतीहरुलाई पनि फलप ख्वाईदिन्छ होला हगी्। किताब किन्ने पैसा पनि छैन र पढने समय पनि छैन्। लेख्नका लागी कुनै चिज पनि छैन र नभाको चिज लेख्ने समय पनि छैन। यदि जिन्दगी किताब हो भने यो मलाई धैर्यता, संयमता,  निरन्तरता र क्षमताको पाठ पढाउदै छ। सायद मेरो परिभाषा भनेका मेरा शब्दहरु पनि हुन्। आजकल कोड बढि लेखिन्छ , कोड लेख्नुको सुन्दरता यो हुन्छ कि त्यो लेखेपछी बडो सुन्दर चिज बन्छ। शब्दलेखेर पेट भर्न गारो छ, कोड लेखेर अलिक सजिलो छ।

शब्द लेखेर पढने कसैले होइन (जस्तो यो लेख हो कि मनोवाद हो कि के हो ?)  कोड पढने त कम हुन्छन तर त्यसको उत्पादन ( सायद आउटपुट लाई नेपालीमा त्यहि भन्छ होला) हेर्ने धेरै हुन्छन्। कोड गर्नुको अर्को फाइदा के पनि हुन्छ भने त्यसले कैयन् मान्छेको जिन्दगीलाई सहज बनाई रहेको हुन्छ। जस्तो मैले अस्ति बनाएको फ्रिमा पढने अवसर प्रदान गर्ने साईट सायद त्यसबाट कसैको भएपनि जिन्दगी राम्रो भयो होला ?

मैले आफुलाई खोजे भने शब्दमा भेट्छु। म शब्दमा बाच्छु र शब्दमा बिलाउछु। सायद म शब्दमा रमाउछु। आशा गर्छू मलाई  लेख्ने केहि बाहना मिलोस। पैले मैले केटिहरुको लागी पनि लेखेको थिए। आजकल जिन्दगीमा केटि छैनन्। नेपालमा आफ्नो सिद्वान्त मिल्ने केटि भेटनु मुस्किल हो। सम्बन्ध बन्छन अनि केहि महिनामा टुटछन् किनकि म त्यो सम्बन्धको सिमामा अटाउन सक्दिन। सायद मैले प्रेमको बास्तबिकतामा शब्दमा हुनेजस्तो सुन्दरता खोजे कि ? मलाइ थाहा छैन र म अब बुझ्न पनि चाहन्न्।

यस्ता कुराहरु जति लेखे पनि कुनै टुङ्गोमा पुग्ने होईनन्। आशा छ म फेरि पहिले को जस्तै सुन्दर लेख्न सकु।

आफ्नो लागी लेख्न सकु, जुन पढेर मलाई आनन्द मिलोस।

शुभरात्री


"500 न्युड"

सधैँ हिँडी रहने बाटो, सधैँ देखिरहने मान्छेहरू उही काठमाण्डौको धूलो मैलो र धुवा अनि सधैँ हतार हुने वा हतारिएको जस्तो गर्ने मनीषहरूको जमात। म त्यो बाटो धेरै चोटि हिँडेको छु, त्यो बाटो भन्नाले मेरो कोठा देखीको मेरो कलेज सम्मको बाटो। शङ्खमुल पुलबाट सुरु भएर ठ्याक्ककै पुल्चोक क्याम्पसमा सकिने बाटो म जस्तो अन्तर्मुखीको लागी बाह्य संसार हेर्ने झ्याल हो। तर कहिलेकाहीँ यही बाटोमा पनि जीवन र जगतको बारेमा नै सोच्न बाध्य बनाउने कलाकृति देखौला र त्यसले मेरो मस्तिष्कको शान्तिलाई खलल पुर्याउला भन्ने सायद सोचेको थिए। कलेजबाट फर्कँदै गर्दा बाटोमा झट्ट देखेको ५०० Nudes ले मेरो ध्यान तान्यो। बच्चा बेलामा Water paint किन्ने पैसा नभएर बन्न नसकेको चित्रकार, नग्नता को ठूलो फ्यान, बेफुर्सर्दी मान्छे र फ्रीमा हेर्न पाईने भएकोले म हेर्न पुगेको थिए। भित्र धेरै नङ्गा मान्छेहरूको चित्रहरू थिए। केटी, फेटा , गर्भवती सुन्दरी पुरुष आदि धेरैका नङ्गा चित्रहरूले त्यो आर्ट ग्यालरिको सानो कोठाको भित्ताहरू भरिएका थिए। मैले एक जब ती चित्रहरू हेर्दै गए त्यहाँ कलाकारिता मात्र भन्दा पनि भिन्न र गहिरो एक वास्तविक संसार झल्किरहेको थियो। चित्रहरू सरल थिए यो अर्थमा कि त्यहाँ धेरै रङ्गीचङ्गी चित्रहरू थिएनन् , चित्रहरू जटिल थिए यो अर्थमा कि त्यसले भौतिकता भन्दा पनि बेफिक्रि र अध्यात्म भन्दा पनि रहस्यमय कुनै भाव लुकाएको थियो। ती सबै चित्रहरूमा लगभग पुरै फरक ढङ्गबाट खिचिएका थिए। धेरै फोटो सेता क्यानभ्यासमा कालो रङ्गहरूले बनाएका थिए।

ती चित्रहरू हेरेर कसले के भने र के सोचे भन्ने कुराहरू हेर्नेको आँखामा पक्कै भर पर्ने सक्छ। पुरातनवादी र रूढिवादी नेपाली समाजले त्यसलाई असामाजिक र अधार्मिक भनिँदिन सक्छ। फेमिनिस्टहरुले त्यसलाई अंगप्रर्दशन भन्दिन सक्लान्। कसैले त्यसलाई यौन उत्तेजना जगाउने सामाग्रीको रूपमा लीन सक्छन्। संसार जस्तो चस्मा लगाएर हेरियो त्यस्तै देखिन्छ भन्ने कुरामा कुनै दुइमत छैन। 

मलाई थाहा छैन चित्रकारले के सोचेर त्यस्तो चित्रहरू बनाए तर मलाई लाग्छ यी चित्रहरूले जीवनको यथार्थतालाई उजागर गरेको छ। हामी नाङ्गे जन्मियौ, हाम्रो प्राकृतिक स्वरूप भनैकै नाङ्गो शरीर हो। तर समाजले हाम्रो भौतिक शरीरलाई कपडा लगाउन सिकायौ र तर मानसिकता पुरै नङ्गाइदियो। कपडाले शरीर मात्र ढाकेन हाम्रा भित्रको यथार्थ रूपलाई पनि ढाकि दियो र हामी बनावटी रूप लिएर बाच्न थाल्यौ। हामी पिडा लुकाएर कृतिम हाँसो हाँस्न सिक्यौ, अरूलाई देखाउनकै लागी भएपनि क्षमता भन्दा माथिका माथिका कामहरू गर्ने गर्यौ। आफ्नो इच्छा र चाहना भन्दा भिन्न रूप लिएर हामी बाच्न लाग्यौ। हामीलाई कपडा लगाउन सिकाइयो , हामीलाई आफ्नो वास्तविकता लुकाउन सिकाइयो। संसार यस्तो हुँदै गयो कि अब गुदी होइन बोक्रा हेरेर बस्तुको मूल्याङ्कन हुन थाले। मान्छे बनावटी र बिकाउ हुन थाले। सायद त्यसैले होला चित्रकारले नङ्गाको तस्विर बनाई दिए अनि हाम्रो वास्तविकताको पर्दाफास गरि दिए तर धेरैलाई यो हेरेर लाज, डर, घृणा लाग्न सक्छ किनभने हामीलाई आजकल लाग्न थालिसकेको छ हाम्रो बनावटी संसार नै हाम्रो वास्तविक संसार हो।







भर्चुअल लब

आज हामी नयाँ प्रेमको कुरा गर्ने छौं। वास्तविक जीवनमा नभेटीकन सामाजिक सञ्जालहरू वा अन्य कुनै अनलाइन माध्यम वाट गरिने प्रेमहरू जुन वास्तविक जिन्दगीहरू भन्दा पनि भर्चुअल संसारमा सीमित हुन्छन् त्यस्तो प्रेमलाई भर्चुअल प्रेम भनेर  परिभाषित गर्न सकिन्छ। हुनत् भर्चुअल प्रेमलाई प्रेम नै नमान्ने जमातहरू पनि नभएका होइनन्, तर अहिलेको समयमा बढ्दै गएको यस्तो प्रवृत्तिले केही राम्रा उदाहरणहरू पनि प्रस्तुत गरिसकेको छन्। आजको यो समयमा इन्टरनेट र सामाजिक सञ्जाल नयाँ साथीहरू बनाउनका लागि तथा पुराना साथीहरू सँगपनि निरन्तर सम्बन्धमा रहि रहनको लागी अत्यन्त लाभदायक भइरहेका छन्। दूरीमा टाढा रहेर पनि एकले अर्कालाई समीपमा अनुभूत गर्ने सकिने गरि विभिन्न प्रकारका प्रविधिहरू विकसित भई सकेका छन्। यसकै नतिजा स्वरूप आजकल एकले अर्कालाई चिन्न तथा उसका बारेमा थाहा पाउनका लागी उ सँगै बस्नु पर्छ भन्ने जरुरी छैन। के भर्चुअल प्रेम हिजोका मुना-मदन, रोमियो जुलिएट र लैला मजनुहरुको कथाले जनाए अनुसारका पवित्र होलान् त ? यो आजको समयमा धेरैको लागि बहसको विषय बन्ने गरेको छ। इन्टरनेट बाट हुने प्रेमले गर्दा समाजमा अनेकन् किसिमका विकृतिहरू भरिएका छन् भन्ने कुरामा कुनै द्विधा छैन। समय समयमा प्रकाशित हुने एम.एम.एस, स्कान्डल लगायतका काण्डहरूले गर्दा हुने आत्महत्याहरूलाई इन्टरनेट लवको दुस्परिणामको रूपमा किन सकिन्छ। पछिल्लो समयमा यी र यस्तै खाले अनेकन् घटनाहरूले गर्दा कैयन् ले आफ्नो ज्यान गुमाउन तथा सामाजिक रूपले बहिष्कृत हुन बाध्य भई सकेका छन्। इन्टरनेट हामीले सोचेको भन्दा गहिरो छ र यो देखिने भन्दा निकै खतरनाक पनि छ। इन्टरनेटमा सबै छ र ती सबैमा राम्रा मात्र होइन धेरै नराम्रा कुराहरू पनि छन्। मानीषलाई आफ्नो पहिचान मेटाएर नयाँ मान्छे बन्नका लागि यहाँ धेरै समय लाग्दैन। अनि यस्तै फेक पहिचान बनाएर बस्नेहरुको जमातमा हामी राम्रो जानकारी विना नै गयौ भने त्यसले हामीलाई यस्तो भुमरीमा फसाउनेछ जसबाट निस्कन को लागि हामीलाई पछि अन्यन्तै कठिन हुन पुग्छ। यसैले यसरी इन्टरनेटका कुनै व्यक्तिहरूमा विश्वास गरी हाल्नुभन्दा पहिले उसको बारेमा पुर्ण जानकारी लीन जरुरी हुन्छ। यदि सुरक्षित रूपले इन्टरनेटको प्रयोग गरिन्छ भने त्यसले सम्बन्ध बनाउन धेरै नै सहयोग पुर्याउने गर्छ। धरै मान्छेहरू जसले वास्तविक जीवनमा साथी बनाउन नसकै पनि इन्टरनेटको माध्यम बाट धेरै साथी बनाएका उदाहरणहरू छन्। यसरी हेर्दा भर्चुअलमा बनेका मित्रहरू पनि जिन्दगीलाई अधि बढाउनका लागी सहयोगी हुन सक्छन्।
के इन्टरनेटको माध्यम बाट हुने प्रेमहरू साँच्चिकै विश्वास योग्य हुँदैनन् त? प्रेम हुनु भनेको आफूले आफ्नो अर्को त्यस्तो पाटोलाई भेट्नु हो जसले मान्छेलाई पुर्ण बनाउन सक्छ। प्रेममा पस्नु पूर्व हाम्रो खोजी भनेको आफूलाई मन पर्ने या भनौं आफ्नो बिचार सोचाई तथा इच्छा चाहन मिल्ने मान्छेको पनि खोजी गर्नु पर्ने हुन्छ। प्रेम हुनु पूर्व हामीले   त्यस्तो खोजेको जस्तो मान्छे भेट्नु जरुरी हुन्छ। इन्टरनेटले धेरै किसिमका मान्छेहरूलाई सजिलै भेटेन सक्ने वातावरणको सिर्जना गरिरहेको हुन्छ। आफ्नो सोचाई र विचार मिल्ने मान्छे खोज्नको निम्ति पहिलेको जस्तो बिहे, तथा सामाजिक जमघटमा हिँड्नुपर्ने युवा पुस्ताको बाध्यतालाई सामाजिक सञ्जालले सजिलो बनाइदिएको छ। समयानुक्रम अनुसार मनीषहरू चुजि बनेका छन्। हामीलाई केही कुराहरू खरिद गर्नु पूर्व पहिलेको भन्दा धरै अप्सन को जरुरत पर्छ। अनि यस्तो अवस्थामा पहिलेको जमानामा जस्तो आफ्नो बुवा आमाले देखाएको केटा वा केटीसँग बिहे गर्नु पर्ने बाध्यतामा र निश्चित स्थानका सीमित मान्छेहरूलाई मात्र आफ्नो प्रेमी वा प्रेमीका स्विकार गर्नुपर्ने अवस्थाबाट माथि उठेर भूगोल र सामाजिक बन्धन नाघेर प्रेम गर्ने स्वभाव अहिले युवा पुस्तामा छ। यस्तो स्वभावले स्वतः प्रेम गर्नका निम्ति इन्टरनेटमा भर पर्नु पर्ने बाध्यताको नै सिर्जना गरि दिएको छ। अहिलेको युगमा समयको महत्व झनै बढेर गएको छ र हामी अनावश्यक काममा समय बर्वाद गर्न चाहन्नौ। त्यसमाथी पनि प्रविधिले हाम्रो समयलाई धेरै हद सम्म बचाइदिने गरेको छ। धेरै समय व्यतीत गर्नुपर्ने कामहरू पनि क्षण भरमै सम्पन्न हुन थालेका छन्। यसको असर सम्बन्ध बनाउने तरिका पनि परेको छ यसको उदाहरणको रूपमा डेटिङ् साईट र अनलाइन म्यारिज ब्युरोमा बढ्दै गएको युजर संख्याले पनि जनाउदछ। त्यस्ता साइटहरू अहिलेको जेनेरेसनको लागि सहज विकल्प बनेका छन् जसले आफूले चाहेको जस्तो मान्छे भेटन र त्यस्ता मान्छेहरू सँग सम्बन्ध बनाउनका लागी सहयोगी भूमिका बनेका छन्। यस्ता प्याटफर्महरुलाई माध्यम मात्र बनाएर यदि हामी सतर्कता साथ अरू कदम चाल्छौ भने हामीले गलत सम्बन्धमा फस्ने सम्भावना कम हुन जान्छ। जस्तो इन्टरनेटबाट भेटेका साथीहरूलाई इन्टरनेटमै सीमित नराखीकन प्रतक्ष जीवनमा पनि भटने उसको अरू विवरणहरू राम्रो सँग बुझेर मात्र बोल्न सुरु गर्ने हो भने यस्ता धेरै दुष्परिणामहरुलाई कम गर्न सकिन्छ।
  

   

लोकस एक अपुरो कथा


“ विन्दुहरूको हिँड्ने बाटो ” म ईन्जिनिरिङ्ग प्रथम वर्षको विद्यार्थीको रूपमा पुल्चोक मा छिर्दा भन्दा पहिले Locus को परिभाषा मेरा लागी यतिमै सीमित थियो। सायद लोकस बिन्दुहरूले आफ्नो बाटो निर्धारण गरेर कुनै गणितीय आकृतिहरू बनाए जस्तै कम्प्युटर ईलेक्ट्रिकल र ईलेक्ट्रोनिक्सका विद्यार्थीहरूले आफ्नो समुन्नत भविष्य निर्माणको लागी सङ्गठित हुने भएकोले यसको नाम त्यो रहन गएको होला। प्रथम वर्षमा लोकस एउटा प्रश्नको भण्डार थियो, आज पनि मलाई याद छ त्यो बेलाको कोर्डिनेटर विमल पनेरु दाईले लोकसको बारेमा भनिरहँदा मेरा मनका के , किन, कसरी जस्ता अनेकन् प्रश्नहरू उब्जिएका थिए जसको जबाफ आज करिब ३ वर्ष पछि लोकसको तिन वटा शृङ्खलाहरू पछि विभिन्न भूमिकाहरूमा रहि तिनलाई सफल बनाउन गरेको प्रयत्नहरूको परिणाम स्वरूप, लाग्छ म भित्र ती प्रश्नका जबाफहरू समेटिएका छन्। लोकस चुनौतीको भण्डार हो , अवसरको खानि हो अनि प्रतिस्पर्धाको खुल्ला रणभूमि हो जसले हामीले कलेजबाट लिएका सैदान्तिक ज्ञानहरूलाई व्यवहारिक रूपमा ल्याउन र दैनिक जीवनका विभिन्न कामहरूलाई सहज बनाउनका धेरै सहयोग गरेको छ। लोकस विद्यार्थी र एउटा सफल उधमी (Business Man) बीचको दूरीलाई पनि घटाउन महत्वपुर्ण भूमिका निर्वाह गरेको कुरा सर्बतसित नै छ। लोकस प्रोजेक्ट गर्नु र देखाउनुमा मात्र सीमित छैन  जबकी यसले अपाङ्गहरूका लागी सुयोग्य साधन बनाउनका लागी होस वा दुर्गम क्षेत्रमा डाक्टर बिना नै उपचार सेवा प्रदान गर्ने जस्ता चरम मानवीय समवेदनाका कुराहरूलाई पनि समेट्न सफल भएको छ। यो यस्तो ठाउँ हो जसले बच्चा बेला देखि अँध्यारो कोठामा आफूलाई बन्द गरेर तारहरू सँग दिन बिताउता देखेका सपनाहरू वा सहरका साईवरमा गएर घण्टौ सम्म अरूले चलाएका डेस्कटपहरू हेरेर कम्पुटर चलाउन सिकी साँचेका सपनाहरू अनि आफ्नो आमाले चिसोमा भाडा माझिरहँदा “आमा म ठूलो भएर भाडा माझ्ने रोवोट बनाई दिन्छु” भन्दै देखाएका सपनाहरू यदि कुनै बिन्दुमा आएर मिल्छन् भने त्यो लोकस हो र यस्तै सपनाहरूका बिन्दुको बाटो भएर होला यसको नाम लोकस रहन गएको। आजकल लोकस पुल्चोलको टेक्नोलोजिक अनुहार भइसकेको छ जसले विद्यार्थीहरूलाई अहिलेको बर्तमन टेक्नोलोजिकल विकास क्रम सँग सँगै हिँडाइरहेको छ। कैयन् वर्ष पुरानो पाठ्यक्रमहरू पढेर पनि यदि पुल्चोकका विद्यार्थी अहिलेको वर्तमान प्रविधिमा काम गर्न सक्ने बनेका छन् भने यसको जस पक्कै पनि लोकसले पाउन पर्छ।

थाहै भएन म र लोकसको बीचमा यी तिन वर्षमा एउटा अन्योन्याश्रित सम्बन्ध स्थापित भई सकेछ। पहिलो वर्षमा स्टल मिलाउँदै दाई हरुको प्रोजेक्ट हेरेर म नि यस्तै खत्रा प्रोजेक्ट बनाउँछु भन्दै थालेको यात्रा दोस्रो वर्षमा असफल प्रोजेक्ट बनाएर झोलामा प्रोजेक्ट हालेर सिर निहुराउँदै हिँड्दा अनि तेस्रो वर्षमा एक सफल प्रोजेक्ट बनाएर लोकस जित्नु अनि त्यसकै फल स्वरूप Otonomis मा इन्ट्रन पाउँदा, लाग्छ मैले एउटा चक्र पुरा गर्ने आँटेको छु। लोकसले धेरै कुराहरू सिकाएको छ धेरै अवसरहरू प्रदान गरेको छ अब चौथो वर्षको पुर्वसन्धामा रहदा अर्को लोकसको आयोजना गर्ने कमिटीमा बस्नु भनेको मेरा लागी अवसर मात्र होइन जिम्मेवारी पनि हो।

म लोकसमा हुनुले पहिलो त एउटा सफल लोकसको आयोजना हुन सहयोग गर्ने छ। विगतमा विभिन्न कम्पनीहरूमा स्पोन्सरसिपको लागी गएर होस वा Locus Children In Technology, Locus Quiz लगायतका कार्यक्रमहरूको सफल सञ्चालन गर्दा हासिल गरेका अनुभवहरूले पक्कै पनि अब आउने दिनहरूमा सफल लोकस गराउन सहयोग गर्ने छ।  हामीले दोस्रो वर्षमा देखेको ईलेक्ट्रोनिक्स क्लबको सपना अझै सम्म पनि अधुरो नै छ त तर मरेको भने अवश्य छैन। त्यो समयमा हाम्रो लागी बाटो कठिन थिए होलान् तर अब लोकसको आयोजकको रूपमा रहदा स्थापना गर्नै त्यसलाई परिमार्जित गरेर लोकस ईनोभेसन ल्याब (Li- Lab) को अवधारणा सोचेको छु जसले अहिले लोकसमा देखाइने प्रोजेक्टलाई विकास गर्नेका लागी विद्यार्थीलाई उपयुक्त वातावरणको व्यवस्था गरि दिने र त्यहाँ हुने हरेक प्रोजेक्टलाई Proper Documentation गरि वेबसाइटमा राख्ने जसले गर्दा पछिल्ला generation लाई त्यही प्रोजेक्ट गर्न सहज होस। साथै अहिलेका समयमा जसरी लोकसमा उत्कृष्ट भनिएका प्रोजेक्टहरुलाई पनि घरमा थन्क्याउन पर्ने अवस्थालाई निराकरण गरि त्यसलाई सफल व्यावसायिक उत्पादन( Commercial Product) बनाउन सहयोग गर्ने छ। यो कामको लागी हामी बाट मात्र सम्भव नहुने देखिएका राष्ट्रिय आविष्कार केन्द्र (National Innovation Lab), नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ( National Academy of Science and Technology) सँग समन्वय गरेर तथा पुराना passout दाई दिदीहरूको सहयोग लिई गरिने छ। अहिले हुने गरेको लोकसले नेपाललाई समेटेन गरेको परिप्रेषमा यसलाई अन्तरराष्ट्रिय क्षेत्रमा पनि पुर्याउनका लागी प्रयासहरू गर्ने छु। अबको लोकसमा भारतमा विभिन्न University को प्रोजेक्टहरूलाई Show Up गर्ने र हाम्रा राम्रा प्रोजेक्टहरूलाई पनि त्यहाँ पुर्याउने र हाम्रो विद्यार्थीहरूको क्षमतालाई अन्तरराष्ट्रिय क्षेत्रसम्म पुर्याउने कोसिस म लोकसको कमिटि मेम्बर भएर गर्ने छु।