G'Ashish Blog

कविता · गजल · कथा

फकिर

कहिले आफैसँग रन्किदैं,
सजीव निर्जीव सबै सँग सन्किदैं,
म मृत्युमा जीवनको आराम देख्छु,
म बाचेकाहरुमा जीवनको भ्रम देख्छु,
कर्म दोषी जीवन मेरो मदहोसी,
कृतिम सासहरूपनि दुष्टहरुले खोसि,
जब मनुष्य नै मलाई सुन्न छाड्न थाल्यो,
मेरो अलौकिक यात्रा रोक्न पत्थर फाँक्यो,
म बोले, थर्काए, चिच्याई जोडले कराए,
तर सुनेन कसैले मलाई अनि म डराए,
म अभावमा बाचेर सम्पन्नता को भाव खोजे,
व्यभिचारी अधर्मी बनाउने जन्मजात श्राप खोजे,
म खोजिरहे चितामा बलिरहेको अहंकारको अंश,
रामनाम जपेर धर्मको नामका चलाउनुपर्ने विध्वंस,
कनिष्ठ बनी छातीमा छुरा रोप्नेको कथा,
आफ्नै सन्तानले बिचल्ली बनाएका बाउहरुको व्यथा,
शरीर बेच्दा पनि बिक्न नसकेका अस्मिताका पाटाहरू,
रगतले पोतीदा पनि वाझै कान्ला र फाटाहरु,
म रोग देख्छु म भोक देख्छु,
पिल्सिएर बसेराहरूको शोक देख्छु,
म देख्छु जगत चलेको भित्र भित्रै जलेको
अरूको प्रगतिले निराशहरूको झोक देख्छु,
म देख्छु नागो आँखाले यो लोक देख्छु,
अनि सुन्छु नाङ्गै आएका मान्छेको रोधन,
नाङ्गै चितामा जल्दा आफ्नूहरूको क्रोधन ,
बाँचुन्जेल मृत्यु नसोची गरेको मानवता दोहन,
म सत्य देखि रहेछु यहाँ म झूट देखि रहेछु,
कमजोरमा जाई लाग्न संसार एक जुट देखि रहेछु,
निहत्थालाई बाँध्ने कानुनले ठूलालाई दिएको छुट देखि रहेछु,
म कहिले स्वर्ग देख्छु कहिले नर्क त कहिले पाताल देख्छु,
आफ्नै उन्नतिले पतन यो लोक बेहाल देख्छु,
प्रकृतिले गुमायो लय भौतिकताको न सुर भेट्छु न ताल देख्छु,
संसारलाई सभ्यता हैन म मतिहीनहरूको आहाल देख्छु,
म भेट्दिन करुणा मनीषमा तर द्वेष छ्यालब्याल देख्छु,
आँखा खोल्दा पाप देख्छु चिम्लदा त्रास देख्छु,
आफूलाई बेचेको देखेर ईश्वरले हाँसेको अट्टहास देख्छु,
राजनीतिको नाममा जलाएका गरिबहरूको बास देख्छु,
बिध्वशंबाट अस्तित्व बचाउनुपर्ने रत्तिम इतिहास देख्छु,
म देख्छु भरिदैं गएको पृथ्वीमा रित्तिदैं गएका मनीषहरू,
बढ्दै गएका दर्शनहरू तर ढल्दै गएका आस्थाहरू,
बढेको पराक्रम सँगै उजाडिएका उदार मनहरू,
विवेकशील दिमागहरू तर संवेदनशील तनहरू,
म चियाई रहन्छु बाटाहरू जीवन र दर्शनका पाटाहरू,
म वैश्य देख्छु, छुद्र देख्छु म देख्छु विद्वान् र लाटाहरू,
तर देख्दिन भेद ऊनिहरुमा जब समान हुन्छन् आँखाहरू,
म देख्छु जिउँदै बाउको क्रिया गराएका छोराहरूको धर्म,
आफ्ना सन्तानलाई मारेर पोइल हिडने आमाको कर्म,
आफ्नै छोरीको लागी ग्राहक खोज्ने बाउहरुको मर्म,
कलिला बालिकामा योनसुख देख्ने पिपासुहरूको सर्म,
म संसार कालो देख्छु षडयन्त्रहरूको जालो देख्छु,
सत्यता किनारका वृक्षहरू र समय क्रमलाई भँगालो देख्छु,
म देख्छु समाजले पुजिरहेको,
भोकमरीमा पाउरोटी फालेर करौडो लुटन खोज्ने गरिबहरू,
भगवान बेचेर साम्राज्य ठडाउन खोज्ने हरिपहरू,
आफै न्यायाधीश बनेर आफूलाई निर्दोष बनाएका सरिफहरू,
म देख्छु जनताले बुझिरहेको,
चाकरी गरेर यहाँ आफ्नो काम पट्टाउनू मा नै फाइदा छ,
हावादारी गफमा दुनियाँ लट्ठाउनु मै फाईदा छ,
फरक सोच राख्ने लाई सबै मिली ठटाउनु मै फाईदा छ,
काम कर्म बिनाको रोज मोज भोग जुटाउनु मै फाइदा छ,
दुनियाँ मलाई सकिएको भन्छ,
म दुनियाँलाई बहकिएको भन्छु,
दुनियाँ मलाई खालि देख्छ,
म दुनियाँलाई झ्याली देख्छु,
दुनियाँ मेरा लागी आश्रम बनाउँछ,
म दुनियाँका लागी चिहान खनाउँछु,
दुनियाँ र ममा फरक धेरै छ,
उ मनीषहरूसँग कारण/अकारण रन्केर बस्छ,
म छु यहाँ जो सृष्टिसँगै सन्केर बस्छ,

भन म के जबाफ दिउ ?






तिमिले त भुल्यौ होला

तर हामीले ढुङ्गाले कोरेर
त्यो पीपलको छातीमा लेखेका नामहरू
पीपल बढ्दा विलाय होलान् भनेथ्यौ तर
त्यो बोटबाट झरेका बीजहरू र
त्यसबाट बनेका नयाँ रुखहरूले 
हामीलाई चिन्ने भएछन    
त्यसैले त आजपनि यो जङ्गलले
खालि तिम्रै बारेमा सोध्छ
भन म के जबाफ दिउ ?

मैले हात काटेर रगतले कागजमा
“आई लब यु” लेखेर तिमिलाई दिँदा
तिमिले बाबाको चुरोट खाने लाइटरले
जलाए भनेको त्यो प्रेम पत्र मेटिएको रहेनछ
ती टुक्रा-टुक्रा खरानीका अंशले हाम्रो कथा
माटोलाई सुनाई दिई सकेछन् हेर
त्यसैले त होला यो हिलो माटोले पनि
छपलाङ्ग छपलाङ्ग गर्दै
मैले त्यहीँ पत्रमा लेखेको कविता गुनगुनाई रहेछन्
भन म के जबाफ दिउ ?

घरबाट टाढाको त्यो मन्दिरमा
तिमीले बिहे गर्ने ढिपी गर्दा हामीले
सलको घुम्टो र पातको माला लगाएर
अनि पुराना भाडाहरूको बाजा बजाएर
ती दोस्तीहरूलाई जबरजस्ती नचाएर
गरेको बिहेहरू ख्याल ख्यालको भनेको थियौ
तर हामीले सात फन्को देवतालाई घुमेको
उनीहरूले साँचो ठानेछन् होला र त
मैले हरेक पल्ट देवताको प्राथना गर्दा
उनीहरू तिम्रो बारेमा सोध्छन्
भन म के जबाफ दिउ ? 

बाबाले किनि दिएको कैँची वाला साइकलमा
हामीले गरेका ती यात्राहरू
साँचेका सपनाहरू, बाचेका पलहरू
सुनेका सुनाएका किस्साहरू
सँगै रमाएका जिन्दगीका हिस्साहरू
तिम्रो मनषपटलबाट त मेटिए होलान्
तर पनि यो पुरानो साइकलले अझैपनि
क्यारिएरमा बस्ने पात्र खोजिरहेछ
अनि पुरा गर्न भनिरहेछ नोस्टालजियामा
साइकललाई देखाएको भविष्यमा
छोराछोरोलाई पनि त्यही चढाउने सपना
उ थोत्रिदा पनि कुई कुई गर्दै
तिम्रै बारेमा सोधि रहन्छ  
भन म के जबाफ दिउ ?

तिमिले मलाई मन पर्छ भनेको भएर
दुई दिन खाना नखाई बाबा सँग माग्दा
बल्लतल्ल गरेर एकादशी मेलामा किनि दिएको
त्यो बासको बाँसुरीमा भरेका धुनहरूले
जसरी ती जङ्गल र बेसीहरू गुञ्जाएथे
अनि सृजना गरि दिएका थिए हाम्रा प्रेम गीत
जसलाई मैले पछिसम्म गुनगुनाउँदा पनि
तिमीलाई आफ्नै समीपमा पाउथे
त्यही धुनहरुले यो अन्तर्दिलको धुन सुनेर
ती कोमल मुटुहरूका भावनाहरू साट्थे
अनि जोडि दिएका थिए हाम्रा मुटुहरूलाई
झोलुङ्गेले गाउँहरू जोडे जसरी
तिम्रो अभावमा हिजोका सुरिला धूनहरु
आज जोर शङ्ख फुके झै लाग्छन्
आजपनि प्रत्येक धुनहरुको अन्त्यमा
बाँसुरीको धून सगैँ बहकिने एक जोर मुटु खोज्छ
भन म के जबाफ दिउ ?

  








घमण्डि



तिमी हार्दा पनि उसले शिर निहुराएन,
आफ्नैले टाढा पार्दा पनि साथ तिम्रो छोडेन,
तिमी रुदाँ उ हासिरह्यो तिमी कमजोर नभउ भनि,
संसारले गलत देखाउँदा पनि बस्यो सहि बनी,
तिम्रो कायरता लाई प्रस्फुटित हुन नदिइ,
तिम्रो लाचारता लाई सतहमा पोखिन नदिई,
तिम्रो भावनालाई बौद्धिकता कहिल्यै नाघ्न दिएन,
छोड दुनियाँ आफैले आफैमा परिधि बाँध्न दिएन,
उसले परिस्थितिमा तिमीलाई ढाल्न सिकायो,
तिम्रो अटलतामा दुनियाँलाई पगाल्न सिकायो,
व्यक्तिको कृतिम रूपमा प्रतिक्रिया गर्न,
अन्यायको विरोधमा प्रतिरोधको बीउ छर्न,
उसले लहैलहैमा हो मा हो मिलाउन सिकाएन,
भौतिक सुख भोगको लागी बिचार बिकाउन सिकाएन,
उसमात्र छ जसले तिमीलाई हर क्षण सहि भन्छ,
तिम्रो इच्छाको लागी आफू नराम्रो बन्छ,
तिम्रो वास्तविक तिमी उ हौं,
उ भए मात्र तिमी हुनुको अस्तित्व बन्छ,
तर अचम्म लाग्छ किन मानीष ग्लानि गर्छन्,
जब कसैले उसलाई घमन्डी भन्छ।




झरि-प्रेम


झरीले सुरु गरेको एउटा कहानी,
एउटा भिजिरहेको केटो छाता वालिको छातामा पस्दा,
उसले नबस वाला ईसारा गरिरहेपनि केटा त्यही बस्दा,
सायद मानवता नै सम्झि सहि केटीले यात्रा गर्न मानि,
सोचेका थिएनन् होला तर लामो यात्रा भयो जानी नजानी,
चञ्चल केटाका आँखा परिरहेथे केटी माथि,
बोल्ने खोज्दा पनि उसले धेरै बेर राख्यो मनका कुरा थाती,
लाग्यो केटालाई हेरेर मर्नु भन्दा बोल्नु जाति,
उसले धन्यवाद भन्यो नाम सोध्यो खोतल्न लाग्यो,
यति त डराएन नि केटा उसले झन्डै सासै त्याग्यो,
पत्थर त थिइन केटी उसलाई पनि बोल्ने इच्छा जाग्यो,
सुनियोजित थिएन त्यो किनकी किस्सा प्रकृतिले जो ल्याथ्यो,
टिनइजर दुई
हिलाम्यो त्यो भुइ
हिडन थाले गर्दै गाईगुई
झरि कहिले बर्सिन्थो मन्द सँग कहिले बाछिटा बनी,
भिज्थी केटी अनि छाता बङ्याउथि उसलाई नभनि,
सायद केटा आफू भिज्न भन्दा उ नभिज्न मा खुसी छ,
छाता सिधा पार्दै भन्छे केटी उ भिज्दा आफू दुखी छ,
अब अघिका अन्जानहरू एक अर्कामा हराउन लागिसके
पहिले गार्हो मानिरहेकी दुई मन छुटनुमा डराउन लागिसके
अरे यार यो प्रेम पनि न नियम छ न बन्धन मान्छ
जसले गर्छ सच्चा मुटुबाट त्यसले यसको महत्व जान्छ
छाताको भित्र सुरु भइसकेको थियो नयाँ कहानी
अब मात्र जान्नु थियो यसले गर्छ राम्रो या हानि,
कहिले हाँसो सुनिन्थ्यो कहिले उसले पिट्थी जानाजानी,
खोले आफूहरूलाई मन पर्न थाल्यो एक अर्काको बानी,
काम सकिएको ठानि रोकियो झरि,
रनभुल्लमा परे दुबै अधि बढ्नु अब कसोगरी,
आकर्षण दुवैका आँखामा प्रस्ट देखिरहेथ्यो,
मुटुहरूले अपार प्रेमहरू फेकिरहेथ्यो
पोखिन चाहन्थे दुई तर कसैले छेकिरहेथ्यो,
सायद विधाताले भुलेछ यस्तो कहानी उ बल्ल लेखि रहेथ्यो,
गरुङ्गो मन रोमाञ्चित तन
बाधीरहेथ्यो एक अर्कालाई झनझन
“बाई” भन्दै ती पाइलाहरू छुट्टि लागे
दुबैले बल्लतल्ल गर्दै भावनालाई काबूमा ल्याथे
विपरीत दिशामा चले एक अर्काका पाईला
सायद झरीलाई मीठो लागेन यो काइदा
अनि बजाई दियो बादललाई धर्ती गर्जियो बेस्सरि
केटो पनि फर्कियो अर्को तिर केटीपनि फर्कि कसरी
फेरि जुधे दुवैका आँखा आखिर सफल भयो झरि
मुस्कुरायो उ मुस्कुराई उ आँखाले धेरै कुराहरू खोलेथ्यो
सायद यस्तै हुनुलाई नै कसैले प्रेम बोलेथ्यो।

पाईला


म त प्रेम रेसमी धागो जस्तो चाहन्थे
जसले टुक्रा-टुक्रा हामीलाई समेटेर माला बनाउन सकोस्,
म त प्रेम दीवारका रङ्गहरू जस्तो चाहन्थे
जसले कुरूप आवरणलाई छोपेर सुन्दरता थप्न सकोस्
म त प्रेम भावनाहरू जस्तो चाहन्थे
जसले रुखा दिलहरूलाई पनि बहकाउन सकोस्
म त प्रेम ती सुन्दर यादहरूको जस्तो चाहन्थे
जसलाई सम्झदा पनि अनुहारमा मुस्कान छाउन सकोस्
तर,
जब प्रेम अस्तित्व भन्दा उदेश्यमा हराउन लाग्यो
यथार्थ भुलेर देखावटीमा बहकाउन लाग्यो
हामी साना तिना बेमेललाई पहाड बनाउन लाग्यौ
एकले अर्कालाई तल पार्न अनेक आरोप जगाउन लाग्यौ
मेरा व्यवहारलाई तिमिले संकाले आखाँले हेरिरहदा
अनि तिमी हरेक कामहरुलाई मैले प्रश्नहरुले बेरिरहदा
तिमीमा भन्दा तिम्रो वासनामा आफुलाई विलिन गराई
तिम्रो रुपमा अडेको आशक्ति अनि त्यो हुनुको तिम्रो आडम्बरिपन
जसले प्रेम गर्ने इच्छालाई भन्दापनि बाध्यतालाई समेटिरहेछ
आफुलाई तल नपार्न कृतिम प्रशंसाको खोला बगाई
बनावटि रुपमा जहिल्यै सम्पुर्णताको आभाष जगाई
 एकअर्काको साथमा हुदापनि हामी जसरि अपुरो भयौ
एक अर्काको भौतिक साथ तर भित्रबाट एक्लै रह्यौ
र त ,
अन्यौलताको समुन्द्रमा आफुलाई ढुवाएर बस्नुभन्दा
रित्तो जिवन मलाई असल लागिरहेछ
जिन्दगी नाटकमा विताई बाचिराख्नु भन्दा
आफ्नै जिन्दगी जिउने ईच्चा जागिरहेछ
आफ्ना साथिहरु भन्दा भिन्न हुने भय भन्दा
अब म भित्रको म ले मलाई मागिरहेछ
त्यसैले अब यो पाईलाले यस्तो चाल लिनेछ
म मैले सोचे जस्तो प्रेम प्राप्त गर्न सकु।।

एउटा मसानघाटको यात्रा

रातको निष्फट अँध्यारो
शून्यताको त्यो सन्नाटा
मनमा लुकेको डर,
दिमागमा अनुत्तरित प्रश्नहरू
मलाई बोलिरहेछ न बढाउन पाइलाहरू
जन्म मृत्युको अर्थ बुझाउनका लागी
मनीषको अस्तित्व सुझाउनका लागी
यो सांसारिक मोहका पासाहरू
शीतको तरेली जस्ता झिना आसाहरू
अस्तित्व उदेश्य र सङ्घर्षको त्रिकोण
फसेको जिन्दगीको मूल्य तौलनका लागी
जालझेल र धोकाहरूले खियाएको
मानवताको हलुंगो ढकहरू बोकी म
सुरु गर्दैछ एउटा
आदि अन्त्य विनाको जात्रा
एउटा मसानघाटको यात्रा

ब्रेक अप

टुक्रिएर झरेका ती मनहरूलाई सँगालेर
ओइलाई सकेका आशाका त्यान्द्रोहरूलाई हुर्काएर
दबेको त्यो पुरुषत्वलाई फेरि ब्यूँताउँदै
हार मानिसकेको हिम्मतहरूलाई जुटाउँदै
हराएको आफूलाई फेरिपनि बटुल्दै
निराशावादको भुमरीमा विलीन सपनाहरू
अब छुट्टै वेग लिएर उछिट्टिएका छन्
तिम्रो दुखको क्षण होला त्यो सायद
तर पनि खबरले मन बिछट्टिएका छन्
तिम्रो घृणाले जलाउन नसकेको
तिम्रो दुर्व्यवहारले पनि गलाउन नसकेको
अचेत , अमूर्त, अपरिवर्तनशील
कुनै दरबारका दीवारहरु जस्तै अढिक
मेरो तिमी प्रतिको भावना आज फेरि
नागबेलीको लहरा जसरी सलबलाई रहेछन्
तिम्रो ब्रेक अपको खबरले।

बिदाइ

तिमी आउने छौं या छैनौँ
निश्चित नै त छैन तर
जब तिमी आउने छौं
समयको चक्र पहिलेको जस्तो पक्कै रहने छैन
पृथ्वीले सुर्यको वरिपरि लगाएका प्रत्येक
चक्करहरू सँग सँगै
ती नदीहरूले चट्टानमा लगाएका प्रत्येक
ठक्करहरू सँगै
दिनले आफ्नो पूर्ववत् रूपलाई फेरेर
रातले परिवर्तनका काँचुली आफूमा बेरेर
समय साँच्चै नै बदली सकेको को हुनेछ
सायद आजका दिनहरू जस्तै गरि
खुसी सजिलै हाँसेर नपाइएला
बेफिक्रि जिन्दगीको पर्बाह छोडी
एकान्तमा समय बिताउन नभ्याईएला
परिचयले जिन्दगीलाई बाँध्नेछ होला
अनि एकमाथि अर्को गर्दै थपिने जिम्मेवारीहरूले
हामीले आफैले अर्थ हीन बनाएका समयहरूलाई
थिचेर साना भन्दा पनि साना बनाउँदै जानेछन्
अनि हामी त्यही समयको जेलमा कैदी हुनेछौ
व्यस्त समयको माझमा पनि बिस्तारै 
हामीले हिजो कथा सरि बाच्ने भनेर साँचेका सपनाहरू
सायद कथा कविताहरू बनी छापिसकेको हुनेछन्
तर शब्दले समेट्न नसक्ने ती सम्झनाहरू

जसलाई तानतुन पारेर कविता बनाउन नसकेर
वा कविता बनाउँदा त्यसको सुन्दरता नासिन्छ भनेर
मैले म भित्र नै सङ्कुचित राखेका यादहरू
अब मेटाउन म कहाँ जाऊ ?

थाहा छैन किन
मैले देखेको भोलिमा तिमी हराएकी छौं
निराशावादी म भएको होइन
तर त्यो सपनाको सहरमा
सपना नै सपनाको आहालमा लीन भएर 
आफ्नो सपना गुमाइका कैयौँ छन्
तिम्रो इच्छा आकाङ्क्षालाई कुनै दिन
महत्वकाङ्क्षा बनाएर
तिमीलाई आफूमा विलीन गरि दियो भने त्यो सहरले
मीठा शब्दको जलप लगाएर
कोमल मुटुलाई घायल बनाउने ती पात्रहरूले
तिम्रो गन्तव्यै बदलि दिए भने
तिमीमा रहेको त्यो आफ्नो टुक्रालाई खोज्न
भन म कहाँ जाऊँ?

कहिलेकाहीँ त लाग्थ्यो
सपनाको भारी जिन्दगीलाई बोकाएर
स्वतन्त्रताको तालमा आहाल खेल्दै
तिमि सगसगै जिन्दगी कटाउ
अगाडि बढ्दै जाँदा झनै साँगुरिदैं जाने
जिन्दगीको बाटाहरूमा पहिलेभन्दा
झनझनै तीव्रगतिमा दौडँदै कुदनुभन्दा
समयको चक्रलाई रोकेर आफूलाई
यो भागादौडिबाट मुक्त बनाउ
तर जब तिमीनै हुन्नौ भने यात्रा नगर्नू को के अर्थ
विश्राम त शीतल छहारीको लागि हुन्छ
अब मरुभूमिमा म केका लागि कुरौं
एउटा बन्दै गरेको सिक्काको अर्को पाटो खोटो छोडेर
बन्दै गरेको रथका चक्काहरू अर्को तिर मोडेर
अक्सर बिछोडमा हुने पिडा भन्दा
अझै धेरै पिडाहरू बोकाएर
बिदाइ मेरो सामुन्नेमा छ र म
बिदाइलाई बिदाइ गर्न असमर्थ भइ सकेको छु
वसन्तलाई बिदा गर्न नमान्ने प्रकृति जस्तै
पहरालाई छोडन नमान्ने छहराहरु जस्तै
आकाश छाडन नमान्ने बादल जस्तै
यहाँ शक्तिशाली त विवश छन् टुक्रनका लागी
म टुक्रिएर बनेको टुक्राले
नियतिलाई कसरी बदल्न सकुँला र
तर म सक्ने काम अवश्य गर्ने छु
तिमीलाई दुई थोपा आशु समर्पण
अनि हार्दिक बिदाइ।  




मन्द-मन्द छाई देऊ न

मन्द-मन्द छाई देऊ न फेरि यो जिन्दगीमा
त्यही साँझको ह्विस्कीको प्याला जसरी

पहिला झम्म अनि मन्द त्यसपछि बुलन्द
पहिले मौन अनि बिस्तारै विस्तारै खुलन्द
मदहोसी नै किन नहोस्  प्रेमको उचाइ नाघ्ने गरि
सपनामै सीमित होस तर सयौं जुनी बाच्ने गरि
होस उडेपनी हामी बेहोसीको मजामा बाच्न सकौं
खुसी मेटिए पनि नसिबबाट बिना कारण हाँस्न सकौं
तिमि झोल बनी देउ म बोतल बनी दिउला
सपना कभर बन्नेछ, दुखको बिर्कोले कसि दिउला
अनि बन्नेछ हाम्रो मायाको एउटा नयाँ ह्विस्की,
थोरै-थोरै पिएर जिन्दगी भरको लागि साँचौला,
खडेरी लाग्दा सम्बन्धमा त्यहीँ खाएर बाचौला,

मन्द-मन्द छाई देऊ न फेरि यो जिन्दगीमा
कुनै शरदको बेमौसमी झरि जसरी

रूखो जमिनमा धेरै पछि आद्रता पर्ने गरि
सुक्खा-सुक्खा यो हृदयमा आशाहरू भर्ने गरि
नयाँ पालुवालाई फेरि बढ्ने तागत दिनेगरी
टुटेका ती मनहरूलाई फेरि राहत दिनेगरी
जसरी त्यो माटोको गन्ध प्रकृतिमा घुल्नेछ
लोलाएका यी नजरहरू फेरि तिमीमा भुल्नेछ
झरीमा किसानले बाली सप्रने सपना साँचे जसरी
लेखक झरि सम्झि कहानीहरू गाँजे जसरी
उराठ यी दैनिकीमा नयाँ रङ्ग पोत्ने गरि
बाझो यो जिन्दगीका गराहरु जोत्ने गरि
तिमी अनगिन्ती सपना पुरा गर्ने गरि आउने छौं
म लाई हामी बनाउने खुसीका बहार ल्याउने छौं

मन्द-मन्द छाई देऊ न फेरि यो जिन्दगीमा
वर्खायामको खहरे खोला उर्ले जसरी

बाटाको त्यो अवरोधलाई गर्जन सहित बगाउने गरि,
आशाको खडेरीमा सपनाहरू जगाउने गरि,
यी सामाजिक कुरीतिहरू जरै देखी ढाल्ने गरि,
यी वर्गीय विषमताका पर्खालहरू पगाल्ने गरि,
तिम्रो उपस्थितिमा शोकपनि शक्ति बनोस्,
मृदुल तिम्रो बोलीमा दुनियाँको भक्ति रहोस्,
उग्र चण्डी बनी तिमी सैतान सँग लड्न सक्नु,
प्रेमलाई पुर्ण गराउन कठिन चढाई चढ्न सक्नु,
खहरेले चट्टानलाई बालुवामा विलय गरे सरि
मेटाई देउ हाम्रा प्रेमका विरोधी नहुन् कोही वरिपरि
लेखि दिउला हामीपनि प्रेमको संविधान अनि,
फेरि आन्दोलन हुने छैन प्रेमको लागि घरीघरी,

त्यसैले म भन्दै छु,
मेरो जिन्दगीमा मन्द सँग ह्विस्कीको प्याला सरि आउ
शरदको बेमौसमे झरि सरि रमाउ
अनि वर्खायामको खहरे सरि पिडाहरू हटाउ 
अनि हामी जिन्दगीलाई जिउने तरिका सिकाई दिउला
अटुट राखि हाम्रो प्रेमलाई जुनी-जुनी टिकाई दिउला
प्रेमको बिक्री हुने समयमा अमूल्य प्रेम बुझाई,

राखि दिउला संसारलाई प्रेम वर्षामा रुझाई
राखि दिउला संसारलाई प्रेम वर्षामा रुझाई