शून्यतासँगको संवाद - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Monday, November 24, 2025

शून्यतासँगको संवाद

खोइ कुनै श्रापले हो कि
बुझ्न नसकेको आभासले हो
मेरा पाइला दुई कदम अगाडि जाँदा
म दुई कदम तल भासिन्छु।
सायद नियम नै यस्तै थियो कि
या मेरो नियति नै यस्तै थियो।
तर हार्नु त मेरो लागि भवितव्य भइसकेको छ
यति सम्म कि मानौँ
हार्नुको परिभाषा नै म हुँ,
र हराइरहने उद्देश्यमै जिन्दगी बाँच्नु हो।

लाग्थ्यो, जिन्दगी मेरो नै हो।
तर कहिले काँही निस्सासिँदै
मेरो कँपिरहेका हातहरूतर्फ हेर्छु;
मेरो दिमागले सिर्जना गरेका यी छिटाहरू,
ती सबै “what if” हरू जुन कहिल्यै भएनन्।
मैले जिन्दगीलाई एउटा सूत्रमा बाँध्न खोजेँ,
मेरो जिन्दगी त्यसै सूत्रबाट भाग्न खोज्यो।
यो खेल चलिरह्यो
न म निस्किन सकें,
न उसले मलाई बाँधेर राखिराख्न सक्यो।

कहिले काँही लाग्छ जिन्दगी नै यही हो;
नखेलाई नसकिने खेल,
र खेलदै रहेछौँ हामी।
जिन्दगीको उद्देश्य जित्नु थियो भने
जित्नेहरू त स्थिर भएर बाँच्थे होला,
हार्नेहरू अस्थिर भएर डगमगाउँथे होला।
साँचो यहाँ नियमभन्दा ठूलो अपवाद छन्
जित्ने रोइरहनेछन्, हार्ने लडिरहनेछन्

खोइ, कसले जिन्दगी बुझेछ?
खोइ, को पो खुसी भएको छ?
यदि अन्तिममा सबै छोडेर जानु नै थियो भने,
यदि अन्त्यमा शून्यमै समाहित हुनु नै थियो भने,
यो सारा नाटक आखिर केका लागि?
यो उद्देश्य, यो अवस्था, यो प्रबन्ध
त्यो हाँसो, त्यो खुसी, त्यो विनम्रता
यदि हारेरै जानु थियो भने
प्रयासको अर्थ के रह्यो?

मानौँ, तिमीले अर्को जीवन नै बनायौ रे
जिन्दगीमा जित मात्रै दियौ रे सब,
भौतिक खुसीहरू हटाइदियौ रे।
तर पनि तिम्रो भित्री शून्य, शून्य नै रहनेछ,
तिम्रा प्रश्न र तिम्रा उत्तर
उस्तै अनुत्तरित रहनेछन्।
छोडिदेऊ, अब अर्थ खोज्न;
खोजेर थाहा पाएछौ भने पनि
सत्यताले तिमीलाई पगाल्नेछ।
थाहा पाएनौ भने पनि
हारले तिमीलाई गलाइरहनेछ।
पूर्णविराम, यहाँ अझै अनिश्चित छ।


 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here