G'Ashish Blog

कविता · गजल · कथा

मेटाइँदे जा


मेटाइँदे त जा त्यो,
तेरो आत्मग्लानीको इतिहास,
जहाँ तैले मच्चाएको वितण्डाको
त आफै भन्डाफोर गरि बस्छस्
तेरो मस्तिष्कको ग्लानि, क्रोध पिडा
अरूमा पोखेर तैले उठाएको
सानो शान्तिको आनन्द
लाग्छ मलाइ त अझै पनि महसुस गर्दै छस्
रत्तिम एउटा बुद्धको शिष्य
आज एक हातमा बन्दुक लिएर
त जस्तै गरि तेरो विरुद्धमा लड्छ
भनिदे मलाइ तेरो क्रान्तिको मर्म यही थियो

मेटाइदे त जा त्यो,
भोको पेटको भ्रान्ति र
पुस्तौँ देखि दबिएको क्रान्तिले
टुटाएको सिङ्गो अस्तित्व
त कुनै नरसंहारी सरि
रगतमा आहाल खेलि रमाउँदै थिइस्
ती काटिएका शिरहरूमा
ती कुटिइका शरीरहरूमा
त तेरो सिद्धान्तको स्वतन्त्रता
फलाकि रहेछस हिजो र आजपनि
अब जीवन नअर्थकर बनिसकेको छ हेर
हाँस्न चुट्किला हैन लास चाहिन्छ
बाच्न हौसला होइन जितको आवास चाहिन्छ
मान्छे आज खुसी खोज्न आत्महत्या गरिदिन्छ
भनिदे मलाइ तेरो क्रान्तिको मर्म यही थियो

मेटाइदे त जा त्यो,
नाबालक छोरा मर्दा मुर्छिएको
बाबुको मनमा लागेको वेदनाहरू
उ गह्रौँ मन र चोटिलो तन लिएर
सेता परेवा उडाइ बसिरहेछ
आफ्नै काखमा दाइको मृत्यु हेरि
सिथिल एउटा भाइको पिडा
जो बाको पुरानो भरुवाले
तेरै क्याम्प तिर निसाना लगाइ रहेछ
आफ्नै अधि बलात्कृत दिदीको रक्ताम्मे
शरीरले उक्साएका बदला मेटन एउटा भाइ
तेरो विरुद्धको फौजमा भर्ती भएछ
जलेको घरमा ढलेको अस्तित्व हेरि
टोलाउँदै मृत्यु कुर्नेको भावनाहरू
एउटा बमले रित्तिएको परिवार हेरि
किशोरीले गरेको आफ्नै मृत्युको कामनाहरू
भनिदे मलाइ तेरो क्रान्तिको मर्म यही थियो

मेटाइदे जा त त्यो,
तेरो जस्तै मुटुमा लागेको 
हजारौका घाउका डोबहरू
त जस्तै आफ्नो आगो निभाउन
संसार जलाउन हिँड्नेको जोसहरू
क्रोधले अन्धो बनेर
मानवता निल्न हिँडेका पाइलाहरू
जीवनको कुनै अर्थ नभेटि
मृत्युमा जीवन नियाल्न खोज्नका उत्सुकताहरू
आफू भत्किएर जोडिन नसकेको बदला
दुनियाँसँग लीन तत्पर कायरहरू
तैले ईश्वरको अस्तित्व मेटन खोज्दा पनि
मेटिन नसकेका आस्थाका पर्खालहरू
आज मान्छे सपना पनि हाँस्न पाएको देख्छ
भनिदे मलाइ तेरो क्रान्तिको मर्म यही थियो

मेटाइदे जा त त्यो
तेरो मान्छे हुनुको अर्थ
अरूलाई लडाएर झराएर
शिखर चुम्ने तेरो आकाङ्क्षा
सिद्धान्तको भुमरीमा दुनियाँ रिझाइ
संसार कठपुतली बनाउने परिकल्पना
अरूको सिद्धान्त अरूको समर्थन
चढाउन लागेको आफ्ना मान्छेको वली
के त मेटाउन सक्छस् ?


Comments